शनिवार, मंसिर १६ गते २०८०

२०८०, मंसिर १६गते

2nd Dec 2023

सर्वोच्चले माग्यो चोलेन्द्रमाथिको महाअभियोग प्रतिवेदन


Nepal Raibar
२५, माघ २०७९ (अर्काइभ बाट)
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न आदेश दिएको छ । आज (बुधबार) संवैधानिक इजलासले उक्त प्रतिवेदनको अवस्था र तत्कालिन सभामुखले लगाएको तोकको विवरण झिकाउन आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । ढकालले भने, ‘संवैधानिक इजलासले निलम्बित प्रधानन्यायाधीश जबराका बारेमा समितिले तयार पारेको प्रतिवेदन र त्यसमा सभामुखले तोक लगाउनु भएको प्रतिवेदन झिकाउने आदेश भएको हो ।’ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा.आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले प्रतिवेदन झिकाउन आदेश दिएको उनले बताए । निलम्बित प्रधानन्यायाधीश जबरा कामकाजलाई कामकाजमा फर्किन सक्ने गरी संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दिएको महाअभियोग निष्क्रिय भयो भन्ने पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । जबराविरुद्ध २०७८ साल फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो। सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले उनी विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए भने उक्त प्रस्तावलाई फागुन २९ गते संसद्मा प्रस्तुत गरिएको थियो । गत २१ मंसिर २०७९ मा संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश जबरालाई पत्र लेखेर अघिल्लो प्रतिनिधिसभामा पेश भएको महाभियोगको प्रस्ताव निष्क्रिय भइसकेको भनी पत्र दिएका थिए । जबरामाथि भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षमरअसफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको लगायत आरोप छन्। यस्तै, पेसी सूची (कजलिस्ट) मार्फत मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी र न्यायमा बिचलन ल्याउने काम गरेको आरोप लागेको छ । पुस २०७५ मा चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश बनेका थिए ।  

ताजा अपडेट