जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।

निर्वाचित भएपछि विजय र्यालीको क्रममा खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आसा र भरोसाले दिएको मतलाई निराशामा परिणत हुन नदिने बताए ।

उनले भने, ‘केन्द्रमा उठेको जुम्लाको आवाजलाई दबाइएको छ । जुम्लाको प्रतिनिधित्वलाई सौतेनी व्यवहारले हेरिन्छ । त्यो सौतेनी व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु ।’