लागूऔषध ओसारपसार, प्रयोग र दुर्व्यसनमा रहेका ७१३ जना पक्राउ

कञ्चनपुर प्रहरीले लागूऔषध ओसारपसार, प्रयोग र दुर्व्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।
सुदूरपश्चिम प्रदेशमै लागूऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई कारबाहीका लागि जिल्लाभर सक्रियता देखाएको छ । संलग्नलाई कारबाहीदेखि युवापुस्ता, विद्यार्थी र अभिभावकलाई लागूऔषध नियन्त्रणका लागि सचेतना कक्षासमेत यहाँका सबै पालिकामा सञ्चालन गरिरहेको प्रहरीले खुला सिमानाका भएका कारण लागूऔषधका कारोबार बढेको औँल्याएको छ ।
आर्थिक वर्ष २०७६/७७ यता मात्रै लागूऔषध मुद्दामा प्रहरीले सात १३ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रियामा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले जिल्लाभरि नै लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढिरहेको बताए । ‘लागूऔषध ओसारपसार र दुर्व्यसनमा संलग्नलाई प्रहरीले एकपछि अर्को गरी दिनहुँ जसो कारबाहीको दायरामा ल्याइरहेको छ’, प्रहरी निरीक्षक गिरीले भने, ‘यसको नियन्त्रणका लागि सीमानाकादेखि सबैतिर विभिन्न युनिटमा प्रहरी परिचालित छ ।’
उनले प्रहरी सक्रियताकै कारण ओसारपसारमा संलग्न पक्राउ पर्ने क्रम पनि बढेको बताए । झन्डै एक दशकअघि यहाँ चरेशलगायतका लागु औषधको कारोबार हुने गरेका घटना बाहिरिने गरेको भए पनि पछिल्ला वर्षमा खैरो हेरोइनको कारोबार ह्वात्तै बढेको छ । प्रहरीले दिएको जानकारीअनुसार चालु आवमा यहाँ लागूऔषध मुद्दामा एक सय ५७ जना पक्राउ परेका छन् । त्यसमा एक सय ४८ नेपाली र नौ भारतीय नागरिक रहेका छन् । चालु आवको फागुन मसान्तसम्म लागुऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएका छन् । प्रहरीले सो अवधिमा २६ किलो चरेश, चार सय १३ दशमलव ६० ग्राम खैरो हेरोइन, नाइट्राभेट, फेनारगन, एम्पुल, रेक्सोजेसिक, डाइजापाम लगायतका लागूऔषध बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले गत आव २०७८र७९ मा लागूऔषधसम्बन्धी एक सय ४३ मुद्दा दर्ता गरेको थियो । त्यसमा दुई सय २६ नेपाली र १३ भारतीय नागरिक गरी दुई सय ३९ जनालाई पक्राउ गरिएको थियो । गत आवमा प्रहरीले यहाँ ३३ किलो नौ सय ८५ ग्राम चरेश, पाँच सय ८० दशमलव शून्य ६० ग्राम खैरो हेरोइन लगायतको लागूऔषधसमेत अभियुक्तबाट बरामद गरेको थियो ।
यहाँ पछिल्लो समय खुला सिमानाका कारण भारतका विभिन्न ठाउँबाट खैरो हेरोइन बढी मात्रामा आयात हुने गरेको छ । खुला सिमानाका लागूऔषध ओसारपसारमा भारतीय सुरक्षा निकायको बेवास्ता लगायतले यहाँ प्रहरीका लागि यसको नियन्त्रण मुख्य चुनौती बनेको हो ।
कञ्चनपुरका सीमानाकाबाट लुकीछिपी आयात हुने गरेको खैरो हेरोइन सुदूरपश्चिमका पहाडी जिल्लामा समेत जाने गरेको विगतका घटनाक्रममा देखिएको प्रहरीकै भनाइ छ । लागूऔषध न्यूनीकरणका लागि भन्दै प्रहरीले यहाँका विभिन्न विद्यालय, सार्वजनिक स्थानमा सचेतना कक्षा सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालयको नेतृत्व तह नै लागूऔषधसम्बन्धी सचेतना कक्षा सञ्चालनमा सक्रिय छ । प्रहरीले लागूऔषध सवेनकर्ताबाट समाजमा अन्य आपराधिक क्रियाकलाप बढी हुने गरेको दाबीसमेत गरेको छ ।
त्यस्तै यहाँ २०७७र७८ मा लागूऔषधसम्बन्धी एक सय ४१ मुद्दा दर्ता भई दुई सय ३० जना पक्राउ परेका थिए । सोही आवयता लागूऔषध कारोबार र सेवनकर्ताको बिगबिगी बढेको प्रहरी रेकर्डले पनि देखाएको छ । आव २०७६र७७ मा लागुऔषधका ५५ मुद्दामा ८७ जना मात्रै पक्राउ परेको तथ्याङ्क छ । उक्त आवमा खैरो हेरोइन प्रहरीले ६३ ग्राम बरामद गरेको थियो ।
चालु आवको फागुनसम्म मात्रै प्रहरीले चार सय १४ दशमलव ६० ग्राम खैरो हेरोइन बरामद गरिसकेको छ । यहाँ सबैभन्दा बढी बेलौरी, पुर्नर्वास, बेल्डाँडी, शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा यसको कारोबार बढी हुने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागूऔषध नियन्त्रण र सचेतनाका लागि टोलसम्म सक्रिय हुने गरी क्लबलगायतका संरचनाको परिकल्पना गरेर अघि बढ्ने योजना रहेको बताए ।
‘तल्लो तहसम्म यसका लागि छुट्टै खालको संरचना भए अझ बढी प्रभावकारी हुन्छ’, उनले भने, ‘छुट्टै संरचना बनाएर स्थानीय सरकार र प्रहरीबीचको समन्वयमा लागूऔषध दुर्व्यसन नियन्त्रणको प्रयास गर्नुपर्ने आवश्यकता छ ।’ उनले भारतबाट बढी मात्रामा लागूऔषध आयात हुने भएकाले नेपाल–भारत संयुक्त सुरक्षालगायतका बैठकमा यो एजेन्डा प्राथमिकताका साथ राखिने बताए।
-
‘वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो’
गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित...
३ घण्टा अगाडी २ मिनेट पाठ -
भरतपुर महानगरपालिकामा सडक निर्माण कार्य सुरु
एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ ।...
४ घण्टा अगाडी २ मिनेट पाठ -
वैदेशिक रोजगार विभागका नायव सुब्बा पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध ३० हजार...
५ घण्टा अगाडी १ मिनेट पाठ -
मदन भण्डारी राजमार्गमा ९७ पुल निर्माण सम्पन्न
पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको...
५ घण्टा अगाडी २ मिनेट पाठ -
दुर्घटनामा ५ जनाको मृत्यु
विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-११...
७ घण्टा अगाडी २ मिनेट पाठ