मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आज अन्तिम सुनुवाइ


Nepal Raibar
११, माघ २०७९ (अर्काइभ बाट)
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन फेरि आवेदन दिनुपर्ने नपर्ने विषयमा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई हुनेछ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो । अमेरिका बस्दा त्यहाँको नागरिकता लिएका लामिछानेले नेपाल आएर सञ्चारकर्म गरिरहँदा विवाद भएपछि अमेरिकी नागरिकता त्यागेका थिए । अमेरिकी नागरिकता त्यागेपछि फेरि नेपाली नागरिकता कायम गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि फेरि नागरिकता कायम गराउन निवेदन नदिएकाले उनको पुरानो नागरिकता प्रमाणपत्र बैध नहुने दाबी रिट निवेदकको छ । गृहमन्त्री लामिछानेले भने आफूले नेपाली नागरिकता परित्याग नगरेकाले स्वतः कायम हुने दाबी गदै आएका छन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेले एकै पटक अमेरिकी र नेपाली दुवै नागरिकका हैसियतमा नेपालमा बसेको पुष्टि भएको छ । अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६ औं दिनमा उनले नेपालको पनि पासपोर्ट लिएका थिए । तर अमेरिकी पासपोर्ट भने उनले सन् २०१८ मा मात्र त्यागेका हुन् । ५१२९६६९८१ नम्बरको अमेरिकी पासपोर्टमा गैरपर्यटक (नाता) भिसा लगाएर उनी ११ मे २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । २७ मे २०१५ मा उनले ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए । यो पासपोर्ट लिन उनले २०५० फागुन १० मा जारी भएको १८२२२ नम्बरको नेपाली नागरिकता बुझाएका थिए । जबकि उनको समेत भनाइमा अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता कायम थिएन । पर्यटक भिसामा काम गर्ने अनुमतिलगायतका विषयमा विवाद भएसँगै लामिछानेले सन् २०१८ मा अमेरिकाको नागरिकता र पासपोर्ट त्यागको प्रक्रिया थालेका थिए । उनले २०७५ जेठ ५ मा नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिई नागरिकता त्याग्न लाग्ने दस्तुर बुझाएर प्रक्रिया अगाडि बढाएका थिए । उनले अमेरिकी नागरिकता परित्याग र पासपोर्ट ‘सरेन्डर’ गरेको स्वीकृतिपत्र २०७५ असार १४ मा प्राप्त गरेका थिए । उनले सन् २०१५ मै लिएको नेपालको पासपोर्ट प्रयोगमा ल्याएका थिए । सन् २०१८ सेप्टेम्बर २० मा जापान र कोरिया भ्रमण जाने क्रममा उनले उक्त पासपोर्ट प्रयोग गरेका थिए ।