थापाथलीस्थित सुकुम्बासी बस्तीमा निर्माण गरिएको अवैध संरचना हटाउन पुगेका काठमाडौं महानगर प्रहरीका प्रमुख एसपी राजु पाण्डे घाइते भएको छ । सुकुम्बासीहरूले संरचना हटाउने क्रममा प्रतिरोध गरेपछि भएको झडपका क्रममा उनी घाइते भएका हुन् ।
एसपी पाण्डेको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ६ टाँका लगाइएको छ । उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनी सामान्य उपचारपछि घर फर्किएका छन् । सोमवार महागरपालिकाले डोजर चलाउन भनेपछि थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका थिए । प्रहरी र स्थानीयबासीबीच झडप भएको थियो ।
काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै मंसिर ४ गतेसम्म त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, सुकुम्बासीहरूले भने विकल्प नदिई आफूहरू सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन् ।