आइतवार, आश्विन १४ गते २०८०

२०८०, आश्विन १४गते

1st Oct 2023

पूर्वसुरक्षाकर्मी संगठनद्वारा रेशम चौधरीलाई माफी दिने कदमको निन्दा


Nepal Raibar
१७, जेठ २०८० (अर्काइभ बाट)
पूर्वसुरक्षाकर्मी संगठनद्वारा रेशम चौधरीलाई माफी दिने कदमको निन्दा
टिकापुर घटनामा संलग्न भई जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई माफी दिने कदमको पूर्वसुरक्षाकर्मीको हकहितका लागि स्थापित संघ संस्थाहरुले निन्दा गरेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष विनोद पाण्डेले जारी गरेको विज्ञप्तिमा सरकारको उक्त निर्णय र उक्त निर्णय सदर गर्ने राष्ट्रपतिको कदमको निन्दा गरिएको छ । कैलालीको टिकापुरमा २०७२ भदौ ७ मा भएको झडपमा परी एक नाबालक र प्रहरीसहित ९ जनाको मृत्यु भएको घटनाका मुख्य अभियुक्त चौधरीलाई जिल्ला, उच्च तथा सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपनि राजनीतिक स्वार्थ र दाउपेचलाई केन्द्रमा राखी, शक्तिको दुरुपयोग गरी कानूनी राज्यको धज्जी उडाउँदै विधिको शासन व्यवस्थालाई कमजोर बनाउने कदमको निन्दा गरिएको उल्लेख छ । त्यसैगरी, विज्ञप्तिमा सबै हिंसाका घटनालाई सत्ता र राजनीतिसँग जोड्ने र अवराधीलाई उन्मुक्ति दिने किसिमका घटनाक्रमले राज्य व्यवस्थाको शक्ति पृथकीकरणको सिद्धान्तलाई समेत चुनौति दिएको उल्लेख गरिएको छ । त्यस्तै, विज्ञप्तिमा सरकारले यस निर्णयलाई तत्काल फिर्ता लिँदै चौधरीलाई पक्राउ गर्न माग गरिएको छ । मागको सुनाुवाई नभएको खण्डमा आन्दोलन गर्ने चेतावनी पनि संगठनले दिएको छ । त्यसैगरी, पूर्वसुरक्षाकर्मी परिषद् नेपालले पनि चौधरीलाई माफी दिने कदमको निन्दा गरेको छ । परिषद्का अध्यक्ष कोमलबहादुर राउतले जारी गरेको विज्ञप्तिमा चौधरीलाई माफी दिँदा कानूनी राज्यको उपहास भएको उल्लेख गरिएको छ । यस प्रकारको कदमले समग्र सुरक्षाकर्मीहरुको मनोबलमा आँच आउने भन्दै राजनीतिक आन्दोलनका नाममा सुरक्षाकर्मीहरु निशानामा पर्नसक्ने सम्भावनाको साथै सुरक्षाकर्मीहरु जिम्मेवारीपूर्वक भूमिका बहन गर्न असमर्थ हुने जनाइएको छ । विज्ञप्तिमा तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।  

ताजा अपडेट