मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिएका छन् ।
उनले भने, ‘गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु भएकी १७ वर्षीय युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ ।’ दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिराहा जिल्ला सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । साथै ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको थियो । केन्द्रले २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । हालसम्म केन्द्रमा पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको डा श्रेष्ठले जानकारी दिए । डा श्रेष्ठका अनुसार हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गर्छ तर अत्यन्त न्यून सङ्ख्यामा अङ्ग दान हुने गरेको छ ।
मानव शरीरको अङ्ग प्रत्यारोपण ऐनको पहिलो संशोधन २०७२ अनुसार अस्पतालले समन्वय इकाइमार्फत केन्द्रलाई जानकारी दिनुपर्ने प्रावधान भए पनि अस्पतालले जानकारी दिन हिचकिचाहट गर्ने गरेको डा श्रेष्ठले बताए । ‘विश्वमा ८० प्रतिशत प्रत्यारोपण दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकाबाट प्राप्त हुने गर्छ । तर नेपालमा अस्पतालले केन्द्रलाई जानकारी दिन हिचकिचाउने र सर्वसाधारणमा यससम्बन्धी चेतनाको अभावका कारण दान गर्नेको सङ्ख्या न्यून रहेको छ’, उनले भने।
मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनचेतनाको अभावका कारण अङ्ग प्रत्यारोपणका लागि अङ्ग दान गर्नेको सङ्ख्या बढ्न नसकेको बताए। उनले भने , ‘मस्तिष्क मृत्युपश्चात् अङ्गदान गर्नसके अन्य रोग लागेका धेरै बिरामीको ज्यान बचाउन सकिन्छ । तर जनचेतना अभावका कारण अङ्गदान गर्नेको सङ्ख्या बढ्न नसक्नु दुःखद कुरा हो ।’
कलेजो प्रत्यारोपणमा डा रोशन घिमिरे, डा ललितकुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकको सहभागिता थियो । मिर्गौला प्रत्यारोपण कार्यमा प्रा डा राकेशकुमार वर्मा, प्रा डा पवन चालिसे, डा दिपेश श्रेष्ठ, डा रविकिरण गौतम, डा हरि बराल र डा रोजन अधिकारीलगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा र डा रश्मित श्रेष्ठको सहभागिता थियो ।
-
गुमेको आँखाको ज्योति फर्कदा दङ्ग म्याग्दीका मोतियाविन्दु पीडित
नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन...
४ घण्टा अगाडी ३ मिनेट पाठ -
मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरु
मर्स्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ। गर्भवती महिलाको...
१० घण्टा अगाडी १ मिनेट पाठ -
‘हर्निया’ भएका पशुलाई ‘सर्जरी’ गर्न सिफारिस
भरतपुरमा निःशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय...
१ दिन अगाडी २ मिनेट पाठ -
सेवा विस्तार गर्दै रामपुर अस्पताल
सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो...
१ दिन अगाडी ५ मिनेट पाठ -
कक्षाकोठामै प्राथमिक उपचार
मोरङको रमाइलो बजारस्थित एक सामुदायिक विद्यालयमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ...
३ दिन अगाडी १ मिनेट पाठ