सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ शनिबार सम्पन्न भएको छ। उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका दुई सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूको सहभागिता रहेको थियो।
उक्त अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरूमध्येबाट सर्वोत्कृष्टहरूलाई अवार्डबाट सम्मान गरिएको थियो। देशभरीबाट 'व्यक्तिगत कोड' र 'टिम व्यावसाय' अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय 'सूर्यज्योति रत्न अवार्ड'बाट सम्मानित गरिएको थियो।
सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा कमलप्रसाद घिमिरे (बुटवल ट्राफिक चोक) र सामूहिक व्यावसाय अन्तर्गत उपिन्द्रा राई (नयाँ बानेश्वर) लाई अवार्ड, ट्रफी र नगदसहित सम्मान गरिएको थियो। त्यस्तै, प्रोडक्ट एम्बेसडर अन्तर्गत 'सुरक्षित भविष्य' र '८४ पूजा' जीवन बीमा योजनामा क्रमशः गौरव कुमार शाही र कमल प्रसाद घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो। उक्त अवसरमा कम्पनीले एमडिआरटी क्वालिफायर्स, सिइओ क्लब र चेयरम्यान क्लबअन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो।
कम्पनीले देशभरीबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरेको थियो। कार्यक्रममा देशभरिबाट सर्वाधिक व्यवसाय गर्ने, अभिकर्ता नियुक्ति गर्ने र बीमालेख जारी गर्ने शाखामध्ये बुटवल ट्राफिक चोक, बुटवल चौराहा र नयाँ बानेश्वर शाखालाई शिल्डसहित सम्मानित गरिएको थियो। उक्त अवसरमा कम्पनीका ब्रान्ड एम्बेसडर राजेश हमालका साथै कम्पनीका सञ्चालक विवेक झा, नन्द किशोर शर्मा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ प्रमुख नायव कार्यकारी अधिकृत पवन कुमार खड्कालगायतले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान गर्दै अवार्ड प्रदान गरेका थिए।
कार्यक्रममा चिफ बिजनेश अफिसर पर्शुराम मरासिनीले स्वागत मन्तव्यका साथ गत आर्थिक वर्षको व्यावसायिक समीक्षा र आगामी वर्षको व्यवसायीक रणनीति र लक्ष्यका बारेका प्रकाश पारेका थिए। उक्त अवसरमा वरिष्ठ प्रमुख नायव कार्यकारी अधिकृत पवनकुमार खड्काले सूर्यज्योति लाइफ मुलुककै सबैभन्दा उत्कृष्ट जीवन बीमा कम्पनी बन्नु पर्ने दाबी गर्दै भने, 'यो सम्भव हामीले प्रदान गर्ने सेवाहरू, बीमा योजनाहरू र विश्वासनियताद्वारा प्राप्त हुन्छ।'
कार्यक्रममा अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हरेक समस्या र चुनौतीलाई चिर्दै अघि बढेको खण्डमा र हामीमा क्षमता, इच्छाशक्ति र दृढ विश्वासका साथ अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने बताए।साथै कम्पनीले समय सापेक्ष उत्कृष्ट बीमा योजना पस्किँदै आएको र बिमितहरूको सहजताको लागि नयाँ–नयाँ प्रविधिमैत्री सेवा विस्तार गर्दै लागेको जसअन्तर्गत ल्याइएको ‘मोबाइल एप’ अभिकर्ता र बिमितहरूका लागि एकदमै उपयोगी भएको बताए।
कार्यक्रममा कम्पनीका सञ्चालक विवेक झाले कम्पनीलाई मुलुककै नमूना र विश्वसनीय जीवन बीमा कम्पनीको रुपमा स्थापित गरी बीमा कम्पनीहरूकाबीच आफूलाई अब्बल र उत्कृष्ट हुनेमा ढुक्क रहेको उनले बताए। त्यस्तै, अर्का सञ्चालक नन्दकिशोर शर्माले अभिकर्ताहरू नै कम्पनीका मेरुदण्ड भएको जनाउँदै कम्पनीको उपलब्धिको सम्पूर्ण श्रेय अभिकर्तालाई नै जाने बताए।
उक्त अवसरमा कम्पनीका ब्रान्ड एम्बेसडर राजेश हमालले सूर्यज्योति लाइफ इन्स्योरेन्सले कम्पनीको मूल्य र मान्यतामा अडिग रही लाखौं नेपालीहरुको विश्वास जित्दै बीमा कम्पनीहरुको क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएकोले त्यसमा आफू पनि सहभागी हुन पाएकोमा गौरवान्वित महसुस गरेको बताए।