मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

images

वर्तमान नेपाली समाजको ऐना नाटक 'परिवेश'

वर्तमान नेपाली समाजको ऐना नाटक 'परिवेश'

आइतवार, आश्विन ७ २०८०
आइतवार, आश्विन ७ २०८०
  • वर्तमान नेपाली समाजको ऐना नाटक 'परिवेश'
    जनचेतनामूलक नाटक 'परिवेश' प्रदर्शन भएको छ। देशमा बढ्दै गएको महंगी, सरकारी कामकाजमा आउँने ढिलासुस्ती, भ्रष्टाचार, क्याम्पसमा भएको अव्यवस्थित राजनीति, विश्व विद्यालयको लापरबाही, सामाजिक सञ्जालको दुरुपयोग, युवा जनशक्ति विदेश पलायन लगायत नेपाल र नेपालीको यथार्थता समावेश गरी सिर्जना गरिएको नाटक हो 'परिवेश'। नाटकले नेपाली परिवेशलाई समेट्ने जमर्को गरेको छ। यस नाटकमा समाजमा भइरहेका र आम जनमानसले भागेका कुराहरुलाई नै देखाउँन खोजिएको छ। नाटकको सुरुवातमा सामाजिक कार्यकर्ताले आफ्नो परियोजनाका लागि क्याम्पस परीक्षणका लागि गएको देखाइन्छ। चारजना कार्यकर्ता क्याम्पसमा पुग्नसम्म त्यहाँ एक पक्षले तालाबन्दी गरिएको र अर्को पक्षले त्यसको विरोध गरेको देखाइन्छ। कालो मास्क लगाएका विद्यार्थी आन्दोलन र तालाबन्दीको पक्षमा हुन्छन् भने सेतो मास्क लगाएका विद्यार्थी शान्तिका पक्षमा। कालो र सेतो मास्कलाई अशान्ति र शान्तिको बिम्बमा उभ्याइएको छ। त्यहाँ तालाबन्दी खुलाउँन खोज्दा दुई पक्षबिच झडप भएको देखाइएको छ। 'पुलिस आयो भाग भाग' भन्ने आवाज आउँनेबित्तिकै सबै विद्यार्थी त्यहाँबाट भाग्छन्। सामाजिक कार्यकर्ता क्याम्पस, विद्यार्थी, विद्यार्थी संगठनलाई लिएर प्रश्न उठान गर्छन्। सोही क्रममा सामाजिक कार्यकर्ता पवित्रले झडपबाट दुई जना विद्यार्थी भागेको कुरा उठान गर्छिन्। क्याम्पसमा झडप भएपछि त्यहाँ धेरै विद्यार्थी डराएर भाग्ने गर्छन्। यस्तो अवस्थामा दुई जना विद्यार्थीलाई मात्रै भागेको देखेको भन्न अमिल्दो हुन्छ। तथापि, सोही भागेका दुई विद्यार्थीलाई त्यसपश्चात देखाइएको छ। ती दुई जना दाजुबहिनी हुन् देवेन्द्र र रुपा। दाई यो कस्तो क्याम्पसमा ल्याउँनु भएको। ज्यान जोगाउनै गाह्रो छ त । भन्ने रुपाको अभिव्यक्तिले यिनीहरु दाजुबैनी हुन् र बैनीलाई क्याम्पसमा दाजुले नै भर्ना गरि दिएको कुरा पुष्टि हुन्छ। यस्तै गरी रुपाले आन्दोलन किन? सबै विद्यार्थी संगठन र विद्यार्थी नेता एउटै हुन्रु हैन भने यिनीहरुको आन्दोलनको उपलब्धी के भन्दै प्रश्नको उठान गरेकी छ भने देबेन्द्र पात्रद्वारा सबै विद्यार्थी संगठन र विद्यार्थी नेता एउटै नभएको, विद्यार्थी आन्दोलनकै कारण शिक्षको अनियमितता घटेको, विद्यार्थीको गाडी भाँडादर घटेको भन्दै सन्तुलन पार्न खोजिएको छ। त्यत्तिकैमा त्यहाँ युटुबरको आगमन हुन्छ। युटुबरले सत्यतथ्य नै नजानी उनीहरुलाई प्रमीप्रेमीका हुन् र यिनीहरु भाग्दै छन् भन्दै भिडियो बनाउँने कुरा गर्छन्। पैसाका लागि, भ्यूजका लागि मिडियाले मिथ्या समाचार सम्प्रेषण गर्ने गरेको कुरा नाटकमा देखाइएको छ। युटुबर र क्यामरा म्यानसँग झगडा हुँदै गर्दा त्यहाँ सामाजिक कार्यकर्ता आइपुग्छन्।   उनीहरु झगडा नगर्न र झगडाको कारण खोज्नतर्फ लाग्छन् । युटुबरले आचारसंहिता विपरित गएर काम गर्न नहुने, यस्तो गरे साइबर क्राइमबिरुद्धको मुद्दा लाग्ने भनेपछि तिनीहरु डराउँछन्। सामाजिक कार्यकर्ताहरुले सम्झाई बुझाइ गरेर पठाउँछन्। यसमा दण्ड दिएको देखाए अझ राम्रो हुने थियो। यसले दण्डहिनतालाई बढी देखाइयो। युटुबरलाई सम्झाएर पठाएपछि क्याम्पसबाट भागेको देखेका थियौ भन्दै भागेर आएका दाजुबैनीसँग कुराकानी गर्छन्। क्याम्पसमा पढाइ नहुने, त्रिभुवन विश्वविद्यालयले समयमा परिक्षा नलग्ने, पढाइ अनुसारको काम नपाउँने, महंगी लगायतका समस्याले गर्दा देश छोड्ने अवस्थामा आएको कुरा सुनाउँछन्। सामाजिक कार्यकर्ताले समस्या गम्भिर भएकाले बसेरै कुरा गरौँ भन्दा राहदानी विभाग जानु पर्ने र कतै काम पाए काम खोज्न पर्ने कुरा बताउँदै उनीहरु छुट्टिन्छन्। यत्तिकैमा राहदानी विभागको दृष्य, ठेल्लमठेल लाइन्, सरकारी कर्मचारी अनुपस्थिति देखिन्छ। त्यहाँ उपस्थित युवा वर्गमा सुदूरपश्चिमको प्रतिनिधि पात्र, तराइ मुलुकको प्रतिनिधि पात्र भएको ति पात्रले प्रयोग गरेको भाषाबाट थाहा पाउँन सकिन्छ। त्यस्तै, काठमाडौँमा बसेर पढ्न नसक्ने अवस्था भएपछि विदेशिन लागेका युवाहरुदेखि घरपरिवारको करले विदेशीन लागेका युवाहरु समेट्न खोजिएको छ। लाइनमा कुरिरहेका सबै जना सरकारी कर्मचारी आएपछि केही राहात भएको महशुस गर्छन्। सरकारी कर्मचारीले काम सुरु गर्नै लाग्दा पछाडिबाट मलाई प्रज्जल मामाले पठाएको भन्छ। त्यसपछि कर्मचारीले त्यो पात्रलाई अगाडि बोलाएर तिनको काम गरिदिन्छन्। त्यसपछि अर्की पात्रलाई कागजपत्र नमिलेको भन्दै घुस माग्छन् र पैसा दिएपछि काम गरेर पठाउँछन्। दुई जनाको काम सकाएपछि कर्मचारी खाजा खान भन्दै जान्छन्। कर्मचारी गइसकेपछि केही बेर कुरेर लाइनमा बसेकाहरु पनि काम हुँदैन आज पनि भन्दै निस्किन्छन्। अन्तिम उक्त लाइनमा सामाजिक कार्यकर्ताहरु बाँकी रहन्छन्। यतातिरको परिवेशले दिक्क लाग्यो। अब गाउँतिर जानुपर्छ हाम्रो परियोजनाका लागि काम गर्न भन्दै गाउँतिर जान्छन्। त्यसपछि गाउँको परिवेश आउँछ। त्यहाँ एक वृद्ध गीत गाउँदै आउँछन्। उनी जंगलमा बाख्रा चराउँन गएका हुन्छन्। त्यही सामाजिक कार्यकर्ता आइपुग्छन्। उनीहरु तिनै बृद्धसँग गाउँको परिवेश, गाउँको अवस्था, गाउँका मान्छेहरुले गर्ने काम , गाउँका समस्या आदिका बारेमा जानकारी लिन्छन्। वृद्ध गाउँका मानिस गाउँमा नभएको विदेश गएको, भएका जतिहरु सामाजिक सञ्जाल चलाएर बस्ने गरेको, खेतबारी बाझैँ भएको, गाउँलेहरु एक अर्काको कुराकाट्ने गरेको बताउँछन्। सामाजिक कार्यकर्ताले गाउँमा इन्टरनेटको सुविधा आउँनु राम्रो कुरा भएको भन्दा बृद्ध आफ्ना गाउँमा त्यसले मान्छे बिगारेको बताउँछन्। बृद्धले उक्त कुरा भनिसकेपछि सामाजिक कार्यकर्ता आफूहरु पहिले गएको गाउँको कुरा बताउँछन्। बृद्ध र चारै जना सामाजिक कार्यकर्ता फ्रिज हुन्छन्। त्यहाँ अरु पात्र एकएक गर्दै विभिन्न सामाजिक सञ्जाल चलाउँदै प्रवेश गर्छन्। उनीहरुले हातमा टिकटक, फेसबुक लगायत अन्य सामाजिक सञ्लालका सांकेतिक मोबाइल बोकेर आउँछन् र आफ्नो क्रियाकलाप जारी राख्छन्। सामाजिक सञ्जालबाट युवायुवतीबीच प्रेमसम्बन्ध बसेको, युवकले गाँजा खाने गरेको, गाँजा नछोडे केटालाई छोड्छु भन्दै युवतीले धम्की दिएको, युवकले गाँजा पनि नछोड्न सक्ने र युवतीलाई छोड्न परे मर्ने कुरा गरेको देखाइएको छ। युवकले मर्छु भन्दा युवती दुई हप्ताको प्रेमका लागि को मर्छ? मरे मर मलाई के को टन्टन भन्दै फोन काट्छे। एउटा युवक गेम खेल्नलाई मोबाइल नकिदिए मर्छु भन्दै आफ्नो आमालाई मोबाइला मागि रहँदा अनि त्यो मर्या भन्ने आवाज आएपछि त्यो ति पात्र बाहिरिन्छन् र पुन स्टेजमा पाँच जना रहन्छन्। उनीहरु उक्त समस्याकाबारेमा कुरा गरि फर्किन्छन्। त्यसपछि एउटा गीत बज्छ । जसमा सबै कलाकार आएर गीतमा हाउभाउ गर्छन्। नाटकमा यो गीत नहुँदा पनि नाट पूर्ण हुन्थ्यो। यो नभए नाटक अपूर्ण हुने कुरा थिएन। यसले नाटकलाई लम्ब्याएको छ। तथापि गीतमा रहेका शब्दहरुले नाटकका बारेका वर्णन भने जरुर गर्छ। गीत राखेर नाटक नराम्रो भएको छ भन्ने कुरा चाहिँ छैन्। यी सबै फरक फरक परिवेश प्रस्तुत गर्नासम्म नाटकले समस्यालाई मात्र उठान गरेको छ। नाटकले समाधान दिन सकेको छैन। विशेषत: सडक नाटकले समस्यासँगै समाधान पनि दिएको राम्रो मानिन्छ। अन्तमा सबै पात्रले आफूले गरेका गल्ती, समाजमा रहेका विकृति सुधार्न हटाउँनतर्फ लाग्ने, क्याम्पसमा आन्दोलन नगर्ने, गरेता पनि शान्तिपूर्ण ढंगले बौेद्धिक आन्दोलन गर्ने, सामाजिक सञ्जालको दुरुपयोग नगर्ने, समाजिक सञ्जालबाट हुने ठगीबाट बच्नुपर्ने, विदेश नजाने, जानै परे पनि फेरि त्यहाँबाट सीप शिक्षा सिकेर आफ्नै देश फर्किने जस्ता समाधानका पक्षलाई देखाइएता पनि समस्या उठान गरे अनुसार नाटकले समाधान दिन सकेको छैन। सरकारी कर्मचारीले घुस आएको कुरा देखाएकोछ त्यसको समाधानको पक्षलाई छोएकोसम्म छैन्। त्यस्तै युवकलाई कुलतमा फसेका देखाइएको छ। त्यसको पनि समाधानको पक्षलाई उजागर गरिएको छैन। समस्याको समाधान दिन नसक्नुलाई सडक नाटक परिवेशको एक कमजोर पक्ष हो। केही समस्याका समाधानका पक्षलाई देखाइएता पनि नाटकले पुरै समस्याको समाधान दिन सकेको छैन। तथापि हाम्रो समाजमा रहेका यथार्थ घटना, हामीले भोगेका देखेका विषयवस्तुलाई नै समेटेर बनेको नाटक परिवेशलाई कलाकारले न्याय गरेर आफ्नो भूमिका निभाएका छन्। सोही कारण नाटक उत्कृष्ट बन्न पुगेको छ। नाटकले हाम्रो परिवेशको, हाम्रो समाजको यथार्थपरक चित्रण गरेको छ। भाद्र १२ गतेदेखि प्रदर्शन सुरु गरेको नाटकले असोज ४ गतेसम्म सात ठाउँमा प्रदर्शन गरिएको थियो। परिवेश नाटकका लेखक हुन् प्रज्जल अधिकारी । उनी एक विद्यार्थी रंगकर्मी हुन्। समाजमा रहेका विभिन्न समस्यालाई चित्रण गर्न आफूले परिवेश शीर्षक राखेर नाटक लेखन गरेको उनको भनाई छ। आफूले समाजमा रहेका विभिद समस्या,विकृति, क्याम्पसमा आउँदा तथा भर्ना गर्दा देखेको काम कारबाहीको ढिलासुस्ती, क्याम्पसमा रहेका विद्यार्थी संगठनले गरेका झडपहरु देखरेर सोही कुराहरुलाई नाटकको विषयवस्तु बनाएको बताएका छन्। उनले भने, ''आरआर क्याम्पसमा (रत्न राज्यलक्ष्मी क्याम्पस) अहिलेसम्म नाटक गरिएको छैन्। एउटा इतिहास पनि हुन्छ जस्तो लाग्यो। पहिले साथीहरु माझ यस्तो-यस्तो विषयवस्तुमा नाटक गरौँ भनेर प्रस्ताव राखे। त्यसपछि साथीहरुले दिनु भएको चासो, नाटकप्रतिको लगावले पनि मलाइँ धेरै हौसला मिल्यो।'' नाटक गर्ने भनिसकेपछि पहिले धेरै कलाकार जोडिएता पनि पछि विभिद कारण बस उनीहरु छुट्टै गएको अधिकारीको भनाई छ। नाटक लेखनदेखि लिएर प्रदर्शनसम्म धेरै समस्याको सामना गरेको उनले बताए। उनी भन्छन्, ''कुनै पनि काम गर्दा त्यसमा चुनौती आएनन् भने त्यसमा कुनै मज्जा नै आउँदैन। संघर्षबिनाको सफलतामा न कुनै आनन्द छ न त कुनै खुशी नै मिल्छ। पहिले धेरै साथीहरु जोडिनु भयो। फेरिबिचैमा साथ छोड्नु भयो। कसैले हौसला दिनुभयो। कसैले निरुत्साहित गर्नभयो। हामीले नाटक सिक्न हलसम्म नपाएर भृकुटीमण्डपमा गएर सिक्यौँ। यस्तै आर्थिक भौतिक लगायतका थुप्रै अभाव, समस्या, चुनौतिलाई सामना गर्दै हामी नाटक प्रदर्शन गर्न सफल भएका हौँ।'' क्याम्पस प्रशासनले कुनै पनि आर्थिक सहयोग नगरेका कारण समूहले सास्ती खेप्नु परेको कलाकारहरुको भनाई छ। शिक्षकहरु, क्याम्पसका केही विद्यार्थी तथा समूहमै केही पैसा उठाएर खर्च चलाएको कलाकार रिता पौडेलले जानकारी दिइन्। उनले भनिन्, 'हामीले सात ठाउँमा नाटक प्रदर्शन गरिसकेका छौँ। भाद्र १२ गते हाम्रै रत्न राज्यलक्ष्मी क्याम्पसबाट सुरु गरेको नाटक माइतीघर,ललितपुर कृष्ण मन्दिर, त्रिभुवन विश्व विद्यालय कृतिपुर, पशुपति,शंखमुल र असोज ४ गते काठमाडौँ विश्व विद्यालय धुलिखेलमा प्रदर्शन गर्यौ। प्रतिक्रिया पनि राम्रो पाएका छौँ।'' नाटक परिवेशको १३ जनाको टोली छ। नाटकको निर्देशन,लेखन प्रज्जल अधिकारी आफैँले गरेका हुन्। नाटकमा कलाकारको भूमिकामा निखिल धामी, सरिता बस्नेत, रिता पौडेल, प्रज्जल अधिकारी, आशिका भट्ट, माधव सुनुवार, सरिता बस्नेत, हरिकृष्ण जोशी, दिपा बोगटी, रिजन बिक, सिम्रन घिमिरे, विप्लव खड्का, रणबहादुर परियार रहेका छन् भने नाटकको उद्घोषण चिरञ्जीवी सापकोटाले गरेका हुन्। उक्त नाटकको क्यामरा, मार्केटिङ अभय चौधरीले गरेका हुन्। त्यस्तै नाटकमा आवश्यक विविध सामाग्री जुटाउन अनिल गुरुङले महत्वपूर्ण भूमिका खेलेर कलाकारलाई सहयोग गरेका छन। मानिसलाई साहित्य, संगीतले निकै प्रभाव पार्छ। सामान्य रुपले भन्दा नबुझिने, या त्यसले कुनै प्रभाव परेन भने त्यति बेला साहित्यका अनेकौँ विधा, संगीतले निकै प्रभाव पार्ने भएकाले यिनै माध्यमको प्रयोग गरी जनचेतना फैलाएको हामीले देखेका छौँ। नाटक, गीत,कथा, कविता, उपन्यासले समाजमा रहेका कुनैन कुनै समस्याको उठान गरेका हुन्छन्। समाजमा व्याप्त विकृति, विसंगति, विभेद, असमानता लगायतमा विभिन्न विषयवस्तुलाई समेटेर कलात्मक रुपले रचना गएिका हुन्छन्। ताकी उक्त रचनाले दिन खोजेको सन्देश सम्बन्धित व्यक्ति, पाठक, दर्शकसम्म पुगोस् र समाज परिवर्तनका लागि मुख्य भूमिका खेलोस्। त्यस्तै रत्न राज्यलक्ष्मी क्यामपसका केही जुझारु विद्यार्थी, रंगकर्मीको आफ्नै पहलमा तयार पारि प्रदर्शन गरिएको जनचेतनामूलक नाटक हो परिवेश । परिवेश नाटकमा संलग्न सबै कलाकार अभिनय सिकेका नभएता पनि सबैले आफ्नो भूमिका न्यायपूर्ण ढंगले निभाएको वरिष्ठ रङ्गकर्मी साहित्यकार एवम नेपाल संगित तथा नाट्य प्रज्ञाप्रतिष्ठान प्राज्ञिय सभा सदस्य पुरु लम्सालले बताए। उनले भने, ''नाटकको शीर्षकले पनि विषयवस्तुलाई प्रतिनिधित्व गरेको छ। हाम्रो समाजको, देशको परिवेशलाई जस्ताको तस्तै समेटिएको छ। मैले पनि आरआर क्याम्पसमै अध्ययन गरेको हुँ। यसरी विद्यार्थी आफैँले नाटक लेखन, निर्देशन गरी प्रदर्शन गरेको यो पहिलो पटक हो। परिवेश टोलीको यो कार्य निकै प्रशंसनिय छ।''

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    थप समाचार