मंगलवार, मंसिर १९ गते २०८०

२०८०, मंसिर १९गते

5th Dec 2023

निजी विद्यालयको विकल्पको रुपमा सामुदायिक विद्यालयको स्तरोन्ति आजको आवश्यकता


Nepal Raibar
१७, बैशाख २०८० (अर्काइभ बाट)
निजी विद्यालयको विकल्पको रुपमा सामुदायिक विद्यालयको स्तरोन्ति आजको आवश्यकता
मानिसले जुनबेला पनि जस्तोसुकै अवस्थामा पनि शिक्षा हासिल गर्न सक्छ । अग्रजका ज्ञान, धारणा, सीप तथा संस्कार एवम् व्यवहार नयाँ पुस्ताले स्वभाविक रुपमा जीवनपर्यन्त सिकेका हुन्छन् । जुन निशुल्क र वास्तविक जीवनसँग मेल खाएको हुन्छ । तर हिजोआज सामान्य आधारभूत शिक्षा पाउन समेत आफ्नो दैनिक आम्दानीको धेरै प्रतिशत भाग छुट्याउनुपर्ने बाध्यात्मक अवस्था निजी शिक्षाको व्यवस्थाले भएको छ । निजी शिक्षाको कारण कतिपय अभिभावकले आफ्नो सन्तानको भविष्य बनाउन आफ्नो घरखेत नै बन्धकीमा राखेर ऋण लिनुपर्ने अवस्था पनि रहेको छ । सरकारी शिक्षाप्रति वितृष्णा फैलाउने काम सरकारी तलबधारी कर्मचारीले निजी विद्यालय कलेजमा लगानी गरी त्यसको संचालक, व्यवस्थापन समितिको सदस्य तथा सल्लाहकार भई नेपाली उत्पादनलाई विदेशीको दास बनाउने चेष्टा गरिरहेका छन् । पछिल्लो समय अङ्ग्रेजी शिक्षा प्राप्त गरेकाले देशभित्र र बाहिर सहजै रोजगारी पाउने स्मार्ट नामधारी समाजको निर्माण भएको छ । यसले देशलाई युवाविहिन बनाउने र देशलाई जटिल संकटमा पार्ने हुन्छ । शिक्षामा अब्बल दर्जाको उपाधि हासिल गरे तापनि समाजमा घुलमिल हुने शिक्षा नपाउँदा आज विदेशिने संस्कार बढेकोमा कसैलाई पनि छैन देशको भविष्यको चिन्ता । आधुनिकताको नाउँमा आफ्नो भविष्य देशमा खोज्नु भन्दा पनि विदेशीको दास हुने परम्परा विकसित भएको छ । यसले एकातिर स्वदेशमा भएका प्राकृतिक स्रोत माथि विदेशीको प्रभाव बढ्छ भने अर्कोतिर जोश जाँगरिला युवा जनशक्ति विदेशीको इसारामा चल्ने गुलामी बन्नुपर्ने अवस्था आउँछ । राणाकालमा सुरु भएको आधुनिक शिक्षाको प्रभाव स्वरुप आएको प्रजातन्त्रको उदयपछि विकसित पञ्चायतकालीन समयमा थुप्रै कृषि, खनिज तथा कुटीर उद्योगको स्थापनाले औद्योगिक क्रान्ति भएको मान्न सकिन्छ । बहुदलको स्थापना, गणतन्त्र तथा संविधानसभाले परिकल्पना गरे अनुरुपको संघीयता देशले पाएपनि हालसम्म पनि पञ्चायतमा भएको विकासको गति नयाँ शिक्षा योजना तथा पाठ्यक्रमले तय गर्न सकेको छैन । विदेशी दातृराष्ट्रको स्वार्थमा आधारित शैक्षिक नीति योजनाको कारण नेपालमा हाल नेपालीलाई पुग्ने स्रोत साधन पुर्याउन सकिरहेको छैन । विगत पञ्चायतकालको देशभक्तीपूर्ण शिक्षाको कारण कृषिबाट उत्पादित खाद्यान्न्न, खनिज तथा कुटीर उद्योगका सामानहरु नेपालीले प्रयोग गरेपछि बढी भएको उत्पादनहरु निर्यात गरिन्थ्यो तर बहुदल आएको ४ दशक पुग्न लाग्दा दैनिक खाद्यान्न सामानलगायत सम्पूर्ण समान प्रयोगका लागि विदेशीको भर पर्नुपर्ने अवस्था आएको छ । अङ्ग्रेजी शिक्षाको बढ्दो आकर्षणका कारण नेपाली समुदायमा विदेशी संस्कृतिको रहनसहनले नयाँ पुस्ता र पुरानो पुस्ता बिचको खाडल फराकिलो हुँदै आएको छ । यसले पूर्वीय मानव सभ्यतामा संकट आई मानवीय भावना समेत डलरमा साट्ने प्रवृति बढेको छ । हुनत शिक्षाले मानवमा रहेका अज्ञानता, अन्धविश्वास, कुरीति, कुसंस्कार कुप्रवृति हताउने उद्देश्य राखेको हुन्छ । यस्ता सामान्य व्यवहारिक शिक्षा प्राप्तिका लागि अनावश्यक रुपमा अङ्ग्रेजी शिक्षाको मोह पाल्नु कदापी राम्रो होइन । त्यसता आधारभत शिक्षा पाउन सबैको नैसर्गिक र मौलिक अधिकार हो । त्यसमा कुनै किसिमको शुल्क लिन नपाईने अन्तर्राष्ट्रिय नियम छ । तर अङ्ग्रेजी तथा निजी शिक्षा दिने विद्यालयले स्थानीयलाई रोजगारी दिएको नाउँमा अभिभावकबाट अनावश्यक शुल्क लिइरहेको छ । ती विद्यालय सञ्चालकहरुले जीवनोपयोगी शिक्षा दिनु भन्दा पनि नेपाली भाषाको ज्ञान, सीप, धारणा र व्यवहारको अङ्ग्रेजी रुपान्तरण बाहेक खासै उपलब्धीमूलक सीप दिएको छैन । तर पनि त्यसैमा लाग्नु नेपाल देश माथि लुट्ने अपराध बाहेक अरु केही होइन । हाम्रा अग्रजले नयाँ पुस्तालाई अविश्वास, कुसंस्कार कुरीतिलगायत अन्धकारबाट टाढा राखी ज्ञानको ज्योति दिलाउन सरकार र प्रशासनसँग लडेर थुप्रै सार्वजनिक तथा सामुदायिक विद्यालय खोलिएका छन् र थिए पनि । हाल तिनीहरुमा सरकार तलब सहित दिवा खाजा लगायत अन्य न्यूनतम सेवा सुविधा दिएर संविधान अनुसार निशुल्क शिक्षा दिन तत्पर छ । केहीलाई कमिसन खुवाएर सरकारले दिने शिक्षा जीवनोपयोगी छैन भनेर एकै ठाउँमा धेरै निजी विद्यालयको सञ्चालन भएको छ । यस्ता विद्यालयले जीवनोपयोगी शिक्षालाई खासै ध्यान नदिँदा पनि केही अभिभावक वर्ग अङ्ग्रेजी शिक्षा दिलाउन जतिपनि शुल्क तिर्न लालायीत भएको छ । यसको प्रभाव सरकारी सामुदायिक विद्यालयमा पढाउन तयार भएका कामदार वर्गका अभिभावक समक्ष सामाजिक व्यवहारमा अनेकौं संकट आउने गरी रुखो बोली र व्यवहारका कारण पनि निजी विद्यालयमा पढाउन बाध्य भएका छन् । समय बदलिए सँगै सिकाइमा आएको प्रविधियक्त परिवर्तनमा सरकारी सामुदायिक विद्यालय पनि अब्बल हुँदै आएको छ । तर सामाजिक प्रतिष्ठामा आउने व्यवहारकै कारण सामुदायिक विद्यालय प्रति स्थानीय समुदाय आकर्षित हुन सकिरहेका छैनन् । यसका लागि सम्बन्धित स्थानीय सरकारले आफ्नो क्षेत्रका सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारीका सन्तान नजिकको सामुदायिक विद्यालयमा तल्लो तहदेखि अनिवार्य रुपमा पढाउनु पर्ने नीतिनियम तथा योजना बनाउन आवश्यक छ । यसको लागि केन्द्र र प्रदेश सरकारले हस्तक्षेप नगरी सम्पूर्ण जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीका सन्तान समेत नजिकको सामुदायिक विद्यालयमा पढाउनु पर्ने बाध्यात्मक नीति बनाउन सहयोगी भूमिका निभाउन जरुरी छ । यसर्थ गुणस्तरीय अङ्ग्रेजी शिक्षाको नाउँमा आर्थिक मन्दी लगायत कोरोना महामारी तथा प्राकृतिक प्रकोप मा समेत व्यापार गर्ने सोच भएका सीमित व्यक्तिको पञ्जाबाट मुक्ति दिलाउन स्थानीय, प्रदेश र केन्द्रीय सरकारको संलग्नतामा सामुदायिक विद्यालयको भौतिक तथा अन्य क्षेत्रको स्तरोन्तिसँगै स्थानीय विद्यार्थीको चाप बढाउने नीतिको कार्यान्वयनलाई जोड दिनु अनिवार्य छ । - सत्यराम कासिछ्वा