आज पहिलो पटक सार्वजनिक रूपमा म रूपन्देही जिल्ला प्रतिनिधिसभा क्षेत्र न-१ का संयुक्त लोकतान्त्रिक-वामगठबन्धद्वारा समर्थित साझा उम्मेदवार क. घनश्याम भूसालका बारेमा चर्चा गर्न चाहन्छु ।
क. घनश्याम भूसाल पूर्व एमाले हुन् बामाले होइनन् । एमाले भन्ने पार्टीप्रति हाम्रो पनि सम्मान छ र आदर छ । घनश्याम भूसाल काँग्रेस होइनन् । हिजो पनि होइनन्, आज पनि होइनन् । सम्भवतः उनी भोलिपनि कुनै न कुनै वामपन्थी मोर्चाकै एउटा धारमा उभिनेछन् । जहाँ उभिएपनि उनी विद्रोही हुनेछन्, विचारकै बहस गर्नेछन् । कम्तीमा उनको उपस्थिति वैचारिक धरातलमै हुनेछ ।घनश्यामको विजयले देश पुरै कायापलट नहोला तर उनी जस्ता केही पात्रहरू जो आफू सरकारमा रहँदा होस् या प्रतिपक्षमा बस्दा होस् जहिले प्रश्नगर्न छाड्ने छैनन् । संसदीय प्रणालीमा सामान्यतया प्रश्न जहिलेपनि प्रतिपक्षबाट सत्तापक्षलाई गरिन्छ । तर नेपालको संसदमा आफ्नै सरकारलाई प्रश्नगर्ने हिम्मत, क्षमता र अध्ययन भएको नेता मध्यका एक हुन् घनश्याम । मलाई उनको निष्ठाप्रति सम्मान छ, इमानदारीप्रति गर्व छ ।
केही साथीहरू आफ्नो छानोमुनी बस्दासम्म ईश्वर मानेर भजन गाउने, अनि त्यहाँ बाट निक्लने बित्तिकै बडो तल्लो स्तरमा झरेर गाली गर्ने गर्नुहुन्छ ।आज घनश्याम गठबन्धनको उम्मेदवार भएर भनेको होइन । म सँग व्यक्तिगत रूपमा राम्रो सम्बन्ध भएका एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु कै नेता साथीहरू सँग कहिलेकाहीँ चिया गफमा मैले प्रसङ्ग निकालेर प्रशंसा गरिरहने पात्रहरू मध्यकै एक हुन् घनश्याम ।
[caption id="attachment_187195" align="alignnone" width="300"]

शंकर गिरी[/caption]
मेरो कहिलेकाहीँ ती साथीहरूसँग प्रश्न हुन्थ्यो स 'कम्तीमा घनश्याम जस्तो नेता जो आफूलाई कम्युनिष्ट हुँ भनेर थाक्दैन तर सधैँ लोकतान्त्रिक चरित्रकै आडमा निरन्तर पार्टीभित्र आन्तरिक लोकतन्त्रको माग गर्दछ, जहिले सार्वजनिक रूपमै बेथिति माथि खबरदारी गर्दछ । यस्तो मान्छेलाई कम्युनिष्टभित्र त्यो अधिकार कसरी मिल्छ होला?'
घनश्याम भूसाल साँच्चै भन्नुपर्दा आजको दिनमा नेपालको राष्ट्रिय राजनीतीमा चाहिने महत्त्वपूर्ण मान्छे हो । हामीले घनश्यामलाई टिकट नपाएर , पार्टी छोडेर , स्वार्थ पुरा गर्न आदि र इत्यादि ढङ्गबाट आलोचना नगरौँ । अहिले क्षेत्रका केही कमरेडहरू नै दिनरात घनश्यामलाई सराप गरेरै सामाजिक सञ्जाल रङ्गाउनु भएको छ । मेरो ती कमरेडहरू आग्रह छ । नेकपा एमालेलाई बनाउन जति योगदान तपाईंहरूको छ त्यो भन्दा बढी नै योगदान घनश्यामको छ । घनश्यामप्रति भएको अपमान, अन्यायका बारेमा एमालेका हरेक तहका साथीले नेतृत्वलाई प्रश्न गरेको भए आज हामीले घनश्यामका बारेमा वकालत गर्नुपर्ने दिन आउँदैन्थ्यो ।
प्रतिगमन हुँदा घनश्यामले ओलीलाई आलोचना गरे भनेर बुझ्ने कि संविधानको पक्षमा बोले भन्ने? पार्टीभित्र भ्रष्टाचार भै रहँदा उनले त्यसलाई रोक्न प्रश्नगरे भन्ने कि अरूले देश लुटेको कुरोमा मौन बसेनन् भनेर खेद्ने?
जस्ले जे सुकै भनोस् दिनरात नागरिक तहमा आएर एमालेको सरकारलाई बदनाम गराउने गोकुल बाँस्कोटा, बालुवाटार जग्गा प्रकरणमा मुछिएका विष्णु पौडेलहरू देखि ओलीको प्रतिगमन, पार्टीभित्रको चरम दमन, सार्वजनिक रूपमा दिएका स्तरहीन टिप्पणीको फगत साक्षी बस्ने तर चुइक्क सम्म नगर्ने छविलालहरू भन्दा विद्रोही घनश्याम सय गुणा सफा, अग्ला र क्रान्तिकारी नेता हुन् यस्का लागि म उनैले जितुन् भन्ने पक्षमा छु ।
त्यसैले नेपाली काँग्रेसका तमाम नेता, कार्यकर्ता साथीहरू मात्रै होइन अहिलेको नयाँ पुस्ता जसले राजनीति मै भएको विकृति, राजनीतिज्ञमा भएको खराब आचरणसँग वाक्क छ । जो पार्टी भित्रै पनि असल व्यक्ति आउनुपर्यो भन्दैछ तिनीहरूलाई समेत मेरो आग्रह छ कि यो पटक एक भोट त्रिभुजलाई दिनुस् । कम्तीमा यो भोटले एउटा असल पात्रप्रति न्याय हुनेछ ।
जय नेपाल !
हेर्नुहोस् यो भिडियो पनि:
https://youtu.be/6t1HuyKEN-Q